दुःखका ती दिन, सुखका यी दिन

९ कक्षासम्म पढ्दा हेमन्तले ७ वटा स्कुल फेरे । जताजता बुबाको सरकारी जागिरको सरुवा, उतैउतै हेमन्तको बास । बालपन उनलाई रमाइलै थियो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथी, नयाँ हावापानी हेमन्त ऋतु जस्तो आफ्नो बास परिवर्तन । र, पनि रमाए हेमन्त । आखिर त्यसले उनलाई दीर्घकालमा फाइदै गर्यो । गह्रागह्रा संगीतसँग सानैमा परिचित भएका हेमन्तलाई त्यसको मौलिक पन थाहा थियो । हिमाल, पहाड र तराई नै उनले बाल्यकालमै घुमे ।
बयस्कमा आएर त्यसमा खेले, खेल्दैछन् र भन्छन्, “खेल्ने छु ।”

कसरी आकर्षित भए हेमन्त संगीतमा ? उनैलाई थाहा छैन । छातीमा हात राखेर भन्छन्– टोलमै संगीतमा लागेको कोही छैन । पुस्ता पल्टाएर हेर्दा पनि कोही थिएन उनको परिवारमा संगीतमा लागेको । उनी मात्रै हुन्, अरुका लागि गीत गाउने ।

० ० ०

कक्षा १ मा पढ्दा कक्षाको अन्तिम पिरयडमा गाउन हैन नाच्थे रे ! हेमन्त । तर, आज तीनै हेमन्त गायम भए । त्यो पनि नामी गायक ।

हेमन्तको घर अगाडि कान्छा दाइको घर थियो । त्यहाँ सधैं रेडियो बज्थ्यो । बिहान छ बजेदेखि बज्न सुरु भएको रेडियो राति ११ बजेसम्म बज्थ्यो । त्यहाँ गीत बज्थे । हेमन्त सुन्थे । उनलाई लोक गीतले आकर्षण गथ्र्यो । झलकमान गन्धर्भ, कुमार बस्नेत, नारायण गोपाल, डेजी बराइलीका गीत उनलाई खुब मन पथ्र्यो ।
भैंसी लड्यो है मायाँ…., सिन्धुलीगढी घुमेर हेर्दा…, हह माले हह…भन्ने गीत अहिले पनि उनलाई अहिले नै सुने जस्तो लाग्छ ।

० ० ०

गीत गाउन त हेमन्तलाई पनि मन लाग्थ्यो । तर लाजले छपक्कै छोप्थ्यो । अनुहार रातो हुन्थ्यो । मन गाँठो पारेर बस्थे । जिन्दगीमा कहाँ कसको स्वाभाव कतिखेर कसरी परिवर्तन हुन्छ, सायद कसैलाई थाहा हुँदैन । यति छ्याङ्ग खुल्छु र गाउँछु भन्ने स्वयम् हेमन्तले पनि सोचेका थिएनन् कहिले पनि ।

भैरहवामा पढ्दा तत्कालीन राजाको जन्मोत्सवमा प्रत्येक वर्ष कार्यक्रम आयोजना हुन्थ्यो । उनी प्रत्येक वर्ष गाउन भनेर नाम टिपाउँथे । जब गाउने दिन आउँथ्यो, उनी पछि हट्थे । कारण थियो,–लाज ।

कक्षा ६ मा उनले पहिलोपटक कक्षामा गीत गाए । हबिब भन्ने शिक्षक थिए । कसले गीत गाउँछ भनेर उनले सोध्दा हेमन्तले म गाउँछु भनेर होटो से… बोलको हिन्दी गीत गाए । अरुका लागि उनले गाएको यो नै पहिलो पटक थियो ।

० ० ०
कपिलबस्तुबाट उनले एसएलसी परीक्षा दिए । चिन्तामणि ज्ञवाली हेडसर थिए । त्यहाँ उनको लाजको बाँध फुट्यो । सयौं विद्यार्थी र अभिभावकका माझ गीत गाए । प्याराफिटमा बसेका साथीहरुले वाहीवाही गरे । ताली बजाए, वान्स मोर भने । उनको त मनोबल नै बढ्यो । ०४६ सालमा गाएको साढे तीन मिनेट लामो त्यो गीतले उनको जीवनको गोरेटो नै कोरिदियो । त्यो गीतले उनलाई हेर्ने अरुको दृष्टिकोण नै परिवर्तन गरिदियो । उनले आफैंले आफ्नो आत्मविश्वासको परीक्षण गरे । पास भए । गीत थियो,–टाढा भैगयौ…।

भैरहवा सेरोफेरोमा उनलाई मान्छेले चिन्न थाले । लोकल हिरो नै भए । भैरहवा सुनौलीको छेउ । भैरहवामा खासै नेपाली गीत गाइँदैन थियो । हिन्दी गीतकै बोलवाला थियो ।
मनोज श्रेष्ठ, सुरेश पौडेल, सूर्य राना, सञ्जय बजीमय, राजेश अमात्य, सिर्जना बौद्धचार्य, कमल गुरुङ, हेमन्त कार्की, सुनिता गुरुङ, सञ्जिव गुरुङ लगायतको अंकुरण सांगीतिक समूह थियो । त्यसमा हेमन्त पनि थिए ।

यसले स्थानीय स्तरमा सांगीतिक कार्यक्रम गथ्र्यो । आर्थिक स्रोतका लागि देउसी भैलो खेलेर सिलगुडी गएर गितार, ड्रमसेट किनेर ल्याए । एक वर्ष उनीहरुले अभ्यास गरेर सभागृह र क्याम्पसमा कार्यक्रम गरे ।

नेपाल टेलिभिजनमा त्यो बेला सञ्जय श्रेष्ठ, हरिष माथेमाहरुका पप गीत निकै बज्थे । उनीहरुलाई पनि गीत रेकर्ड गर्न रहर लाग्यो ।

अभाव थियो पैसाको । देउसी खेलेर २४ हजार रुपैयाँ पैसा जम्मा गरे र गीत रेकर्ड गर्न काठमाडौं आए । कुपण्डोलमा साङ अडियो भिडियो थियो, त्यसमा १० वटा गीत रेकर्ड गरे । हेमन्तका दुई गीत रेकर्ड भए । ०५० सालमा गीत त रेकर्ड भए तर बजारमा गएन ।

रेडियो नेपालको फोन इन कार्यक्रममा हेमन्तको गीत बज्यो । जन्दिगीमा पहिलो पटक खुसीको पँखेटा लागेको दिन थियो त्यो हेमन्तका लागि ।

मोफसलमा संगीत सजिलो छैन, त्यसमा पनि पश्चिममा गाह्रो छ । लोकदोहोरीका लागि केही सजिलो भए पनि आधुनिक र पपका लागि भने निकै कठिन । फलतः अंकुरण सांगीतिक समूह तितरवितर भयो ।

० ० ०
०५२ सालको अन्तिममा उनी काठमाडौं आइपुगे । काठमाडौं आउनु हेमन्तका लागि अलिकति रहर थियो, अलिकति आशा थियो अनि त्यो भन्दा धेरै बाध्यता थियो । बाउनको छोरो क्षेत्रीकी छोरीसँग विवाह गरेका थिए । दाजुको विवाह भएकै थिएन, उनले उछिनेका थिए । उता श्रीमतीको अवस्था पनि उस्तै थियो । दिदीको विवाह भएकै थिएन । उनले हेमन्तसँग लगनगाँठो कसिसकेकी थिइन् ।

जति बसे पनि हुन्छ भन्ने सुन्धारामा बस्ने आफन्तकैमा पेइङ गेष्टका रुपमा बस्न भनेर काठमाडौं आएका हेमन्त एक साता पनि बस्न सकेनन् । उनी निस्किए । मैतीदेवीमा राजेन्द्र भन्ने साथीकोमा रुम सेयर गरेर बस्न थाले ।

मोनालिसा रेष्टुराँ एन्ड बारमा उनले काम गर्न थाले । काम थियो गीत गाउने । तर पैसा नलिने सर्तमा उनले काम पाएका थिए । बौद्ध गाए, गीत सुनाए, प्रेसिडेन्ट बारमा गएर उनले गीत सुनाए तर साउले टिम नै लिएर आउ भन्थे । तर उनीसँग सांगीतिक समूह थिएन साहुले भने जस्तो । त्यसैले उनी विना पैसा अरुकै समूहमा मिसिएर गीत गाउन थालेका थिए ।
तर, त्यहाँ पनि समस्या आउन थाल्यो । टिप्स आउन थालेपछि त्यो टिप्स पनि उनले नलिने सर्तमा उनले गाए । साढे दुई महिना पछि त्यसलाई पनि उनले बाइबाइ गरे ।

० ० ०

काठमाडौं बाहिरबाट हेर्दा जति सुन्दर छ, त्यती नै क्रुर पनि । न यहाँ कसैलाई कसैको मतलब छ न कसैलाई कसैको दुःखमा सहारा दिने समय र ठूलो मन छ । यहाँ छ त केवल भागदौड र आफ्नै चिन्ता । छेउमै जवान छोरो गुमाएर दागबत्ती दिँदै गरेको बृद्ध बाउ धोद्रो स्वरमा रोइरहेको हुन्छ, सँगै एक जोडी तरुण तन्नेरी हाँस्दै लठ्ठारिरहेको हुन्छ । हेमन्तलाई विहान बेलुकाको हातमुख जोर्नु थियो । श्रीमतीको साडी र ब्लाउज पनि फेरिदिनुपर्ने जिम्मेवारी थियो ।

ओरियन्टल इस्सोरेन्स नामक बिमा कम्पनीमा उनले जागिर गर्न थाले । त्यही कम्पनीमा स्वर सम्राट नारायण गोपालकी श्रीमती पेमला काम गर्थिन् । हेमन्तले उनीसँगै ७ वर्ष काम गर्ने अवसर पाए ।

त्यहाँ काम गर्न थालेपछि उनले काठमाडौंमा पहिलोपटक डेरा लिए । धोविधारामा माटोको घरमा लिएको डेरा पनि उनलाई त्यो बेला आफ्नै घर जस्तो लागेको थियो ।
त्यही सानो कोठामा छेउमा किचन हुन्थ्यो, अर्को छेउमा सुत्ने खाट । अर्को कुनामा हेमन्तको हार्मोनियम अटाउँथ्यो । छोराहरु खाटमा सुत्थे, हेमन्त र श्रीमती भूईंमा ।

काठमाडौंमा दुःख थियो । गाउँमा घर थियो । एकलकाँटे काठमाडौंलाई सधैंका लागि छोडेर घर जाउँजाउँ पनि लाग्थ्यो । तर, समस्या पुरानै थियो । थाप्लोमा जिम्मेवारीको भारी थियो । घरगाउँलाई देखाउनु थियो । अनि उसैगरी सुस्ताउँदै संघर्षको पहाड चढ्नु पथ्र्यो । देखिरहे हेमन्तले संगीतको सगरमाथा चढेको ।

हरेक ३ महिनामा उनी ४ हजार रुपैयाँ बचाउँथे र एउटा गीत रेकर्ड गर्थे । एफएम भर्खर सुरु भएको थियो ०५३ सालमा । उनी एफएममा लगेर गीत छोड्थे । शरदराज गौतमले खुब रुचाउँथे । धनेन्द्र विमलले उनको गीत राम्रो छ भन्दै बजाउँथे ।

उनी हरेक गीत तयार गरेर पहिला दिब्य खालिङलाई सुनाउँथे । उनी तिम्रो स्वर टेक्निकल छ, माइकमा राम्रो सुनिन्छ भनेर हौस्याउँथे हेमन्तलाई । अरुले दिएको हौसलाले जिन्दगीमा कति ठूलो रोल खेल्छ भन्ने थाहा छ । उनैले हेमन्तलाई अविरल बग्दछ इन्द्रावतीमा गीत गाउन दिए । त्यो गीत गाउँदा चलचित्रकर्मी चतेन कार्कीले भनेको हेमन्तलाई स्मरण गरे, “प्राइम स्टुडियोमा मैलै गीत गाइरहेको थिएँ । उहाँले भाइ तिम्रो नाम के हो भन्नु भयो । मैले आफ्नो नाम भने । उदित नारायणमा पनि केही थियो बाँकी मैले केही भनिन….।” उनले भन्न खोजेको हेमन्तले बुझे ।

“आखिर त्यो बेला यस्तै साना साना कुराले त खुसी भइन्थ्यो अरु त के नै थियो र खुसी दिने ?” संघर्षको समयमा पाएका दुःखका बाछिटा अहिले पनि उनको अनुहारमा खस्न खोजिरहेका थिए ।

५ वर्ष लगाएर उनले ०५७ सालमा पहिलो एल्बम (ओ प्रिय) निकाले ।

यो एल्बमको ‘ओ प्रिय…’ गीत हिट भयो । सञ्चार गृहले उनलाई नोटिस गरे । तर एल्बमबाट आर्थिक फाइदा भने भएन ।

४६ हजार रुपैयाँ डुब्यो । दिक्क लाग्यो । गाउँ कि नगाउँ भयो तर पनि उनले हार खाएनन् । २ वर्ष लगाएर अर्को एल्बम निकाले, विशेष । यसका माया साह्रै महँगो… र हाँस्नै पर्छ भन्ने पनि कहाँ लेख्या छ र…. लोकप्रिय भए । सेलिब्रिटीको स्वाद चाख्न पाए ।

० ० ०

धिरज राई, ओमविक्रम विष्ट, खेम गुरुङ लगायतका कलाकारसँग हेमन्त मेला महोत्सवमा गीत गाउन हिँड्थे तर उनलाई आयोजकले पैसा दिँदैन थियो । अरु खल्तिभरी पैसा बोकेर फर्किन्थे । अनुहारमा चमक हुन्थ्यो । तर हेमन्त भने रित्तो हात । मायाँ साह्रै महँगो… र हाँस्नैपर्छ भन्ने पनि कहाँ लेख्या छ र…. हिट भएपछि भने बल्ल उनलाई पनि पारिश्रमिक दिन थालियो ।

० ० ०

पेमला गुर्वाचार्यसँगै काम गर्दा उनलाई भेट्न रामकृष्ण ढकाल, न्ह्यु बज्रचार्य लगायतका गायक तथा संगीतकारहरु पुग्थे । उनीहरुको सान, मान र इज्जत देखेर हेमन्तलाई रहर लाग्थ्यो ।

मायाँ त यस्तो होस्…, थाप न थाप मायाँलु…, बदनामै हुन्छु…, आउँदै गर मालती…, फूल हो भने रसाइदेऊ…, तिमी अर्कै घरको मान्छे…, उकाली जाँदा दाहिनेतिर…, हुन्न हुन्न…, लगायतका उनका गीत लोकप्रिय भए ।
० ० ०

हेमन्त हिलोमा फुलेका कमलको फूल हुन् । उनी संघर्षको प्रतिमूर्ति हुन् । र, सँगै सफलता चाखेका सफल कलाकार पनि हुन् । गाएर जोडेको एउटा घर छ उनीसँग काठमाडौंको बसुन्धरामा । गाएर किनेको घडेरी पनि छ हेमन्तसँग । गाडी पनि उनलाई आफ्नै गलाले दिएको छ ।

त्यो भन्दा पनि सुख दिने परिवार छ उनीसँग । अष्ट्रेलियामा रहेका दुई छोरा र सँगै रहेकी श्रीमती उनका सुखका स्रोत हुन् ।

० ० ०

संगीत सिक्नु र गायक बन्नु फरक कुरा हुन् । ठ्याक्कै सपना र विपना जस्तै । रहर सबै पूरा हुँदैनन् कति हवासँगै उडेर जान्छन् कति भेटिन्छन् पनि हेमन्तका दुईटै छोरा अहिले अष्ट्रेलियामा संगीतको शिक्षा लिइरहेका छन्, जेएमसी कलेजमा । संगीतप्रतिको मोहले उनीहरुलाई अष्ट्रेलिया पुर्यायो तर थाहा छैन उनीहरुको सपना फुल्छ या कोपिलामै निमोठिन्छ । “हिजो मात्रै छोराले आफ्नो कम्पोज मलाई सुनिदिनु है बाबा भनेर भाइबर गरेको छ,” यही क्षेत्रमा आउने रहर छ उनीहरुलाई हेरौं कस्तो गर्छन्,” हेमन्त भन्छन्, “तर संगीतको शिक्षा लिँदैमा गायक भइँदैन । मैले संगीतको शिक्षा नै लिन पाइन ।”

hemant

About hemant

Leave a Reply